Comments Add Comment

तुलाधर नेतृत्वको आन्दोलनमा नजान जनजाति महासंघमा खबरदारी

३ पुस, ललितपूर । नेपाल आदिवासी जनजाति महासंघमा आबद्ध अधिकांश जातीय संगठहरुले पद्मरत्न तुलाधर नेतृत्वको आदिवासी जनजाति राष्ट्रिय आन्दोलनमा महासंघ सहभागी हुन नहुन सुझाव दिएका छन् ।

फाइल फोटो
फाइल फोटो

५६ मध्ये अधिकांश जातीय घटकका प्रतिनिधिहरुले तुलाधर नेतृत्वको आन्दोलन समिति २२ दलीय मोर्चाको घटक भएको आरोप लगाए । लिम्बु, मगर, डोल्पो र नेवाः संस्थाका प्रतिनिधिहरुले मात्र तुलाधर नेतृत्वको आन्दोलनमा महासंघ सहभागी हुनुपर्ने धारणा राखेको थारु कल्याणकारी सभाका अध्यक्ष धनीराम चौधरीले जानकारी दिए ।

जनजाति महासंघले बुधबार रातिसम्म आफ्ना घटक संगठनहरुसँग आन्दोलनको बारेमा सुझाव लिन बैठक राखेको थियो । ललितपूरको स्थानीय प्रशिक्षण प्रतिष्ठानमा भएको बैठकमा ५६ ओटा जातीय संस्थाका प्रतिनिधि, १३ सदस्यीय संघीय परिषद सचिवालयका प्रतिनिधि र निवर्तमान अध्यक्ष राजकुमार लेखी सहभागी थिए ।

प्रायः सबै जातीय संघ संस्थाहरुले आदिवासी जनजाति अधिकारको लागि महासंघकै नेतृत्वमा दबाव र आन्दोलनका कार्यक्रम ल्याउनुपर्ने सुुझाव दिएको महासचिव पेम्बा भोटेले बताए ।

थारुका अध्यक्ष धनीराम चौधरी, गुरुङका अध्यक्ष रेशम गुरुङ, माझीका अध्यक्ष धनवहादुर माझी, भुजेल संगठनका बुद्ध घर्ती लगायतले महासंघका केही पूर्व अध्यक्ष र महासचिवले जनजातिलाई विभाजित गर्न खोजेको बताएका थिए । ‘पूर्व अध्यक्ष र महासचिवहरु जनजाति आन्दोलनका नाममा आफू हावी हुनका लागि महासंघ नै फुटाउन अग्रसर भएका छन्’ उनीहरुको भनाइ उदृत गर्दै एक सभाभागीले भने-‘कुनै पनि हालतमा तुलाधर नेतृत्वको दलीय मोर्चामा महासंघ सहभागी हुन हुँदैन ।’

बैठकमा सहभागी ४७ जातीय संस्थाका प्रतिनिधिहरुमध्ये अधिकांशले तुलाधर नेतृत्वको आन्दोलन सहभागी नहुन जनजातिहरुलाई आह्वान गर्नुपर्ने धारणा समेत राखेका थिए ।

‘महासंघले आन्दोलनका तयारी गर्नुपर्छ, सबै जनजातिलाई उता होइन यता आऊ भनेर बोलाउनुपर्छ भन्ने सुझाव आए’ थारु अध्यक्ष धनीराम चोधरीले-‘सबै आदिवासी जनजातिलाई तुलाधर समितिमा नजाऊ, महासंघको नेतृत्वको आन्दोलनमा आऊ भन्नुपर्छ ।’

नेवारका अध्यक्ष नरेश ताम्राकार, लिम्बुका महासचिव लिला सिंगक, डोल्पोका नोर्बु घले र मगरका उपाध्यक्ष गंगा थापा मगरले मात्रै तुलाधर नेतृत्वको आन्दोलनमा सहभागी हुनुपर्ने धारणा राखेका छन् ।

भेलाका सहभागीहरुले सुरेश आलेमगर, परशुराम तामाङ, बालकृष्ण माबुहाङ, ओम गुरुङ लगायतको नामै किटेर पूर्व पदाधिकारीले जनजाति आन्दोलनमा कृत्रिम विवाद खडा गरेको आरोप लगाएका छन् ।

तुलाधर समितिमा नेताको लडाई !

भेलामा सहभागी बराम संघका कार्यवाहक अध्यक्ष किरण वरामले तुलाधर नेतृत्वको राष्ट्रिय आन्दोलनमा नेता हुने हानाथाप रहेको प्रशंग सुनाउदा हाँसो चलेको थियो ।

महासंघका पूर्व अध्यक्ष र महासचिवहरुले तुलाधरलाई अघि सारेर आन्दोलन गर्ने भने पनि त्यहाँ उनीहरुबीच को नेता बन्ने भनेर मारामार चलेको प्रसंग उनले ल्याएका थिए ।

‘तुलाधर समितिमा म पनि थिएँ तर बिरामी बुढालाई प्रयोग गर्न खोजिएको रहेछ, उनी विरामी भएर बैठकमा आउदैनन्, अनि कसले अध्यक्षता गर्ने भन्नेमै हाम्रा नेताहरुबीच मारामार चल्छ’ बरामले भने-‘आदिवसासीको अधिकार स्थापित गर्ने भन्दा पनि को नेता हुने भन्ने लडाइ देखेपछि म जान छाडेँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment